सामाजिक फीड-
माघ १४ गते – जनकपुरधाम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको छ। पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार बैठकमा संसद्को हिउँदे अधिवेशनका तयारीसम्बन्धी विषयमा छलफल हुनेछ।
श्रेष्ठले रातोपाटीसँग कुराकानी गर्दै बैठकका लागि तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार बैठकमा हिउँदे अधिवेशनमा पार्टीको प्रस्तुतिका विषयमा विस्तृत छलफल हुनेछ।
बैठकमा पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछानेको अनुपस्थितिमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा राखिने बताइएको छ। साथै, सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने र अधिवेशनका महत्वपूर्ण एजेन्डामा केन्द्रित हुनेबारे गहन छलफल हुने बुझिएको छ।
रास्वपाले संसद्मा आफ्नो उपस्थिति र प्रभावलाई बलियो बनाउने रणनीतिमा केन्द्रित हुँदै आएको छ। यसै बैठकले आगामी दिनमा पार्टीको संसदीय गतिविधिलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।