सामाजिक फीड-
९ गते पौष, जनकपुरधाम
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) मा सरोगेट ब्रान्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा खड्काले सट्टेबाजी प्लेटफर्मको प्रत्यक्ष प्रचार नगरेको तर सरोगेट ब्रान्डमार्फत लगानी लिनु परेको स्पष्ट गरे।
उनले सरोगेट ब्रान्डले बेटिङको प्रचार नभई आफ्नो ब्रान्ड मात्रै प्रवर्द्धन गर्ने दाबी गर्दै विगत पाँचदेखि सात वर्षयता नेपालमा यस्ता ब्रान्ड प्रयोग भइरहेको बताए। “आईसीसी र एसीसीले पनि सरोगेट ब्रान्ड प्रयोग गर्छन्। नेपालको कानुनमा यसबारे स्पष्ट व्यवस्था नभएकाले यो विवादित बनेको हो,” खड्काले भने।
एनपीएलमा सहभागी आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक र स्टाफको अनैतिक गतिविधि रोक्न सुरक्षा सम्पर्क अधिकृत खटाइएको र आईसीसीको भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति पालन गरिएको उनले जानकारी दिए।
तर, लिगमा उल्फ ७७७ न्युजजस्ता विवादित सरोगेट ब्रान्डको प्रयोगले बहस उत्पन्न गराएको छ। सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका इङ्लिस ब्याट्सम्यान सेफ अलि जेबले जर्सीमा बेटिङ प्लेटफर्मको लोगो छोपेर खेलेका थिए।
खड्काले सरकारले पर्याप्त आर्थिक सहयोग गरेको भए सरोगेट ब्रान्डको आवश्यकता नहुने तर्क राख्दै सरोगेट ब्रान्डको निगरानी र कानुनी संरचना तयार गर्न जोड दिए। “सरोगेट ब्रान्डबाट आउने लगानीलाई निगरानी गर्ने प्रक्रिया बनाउन आवश्यक छ,” खड्काले थपे।
नेपालको सबैभन्दा ठूलो घरेलु लिग एनपीएल सफलतापूर्वक सम्पन्न भए पनि प्रायोजनसँग जोडिएका विवादहरूले यसलाई आलोचनाको केन्द्र बनाएको छ। सरकारले यो विषयमा स्पष्ट कानुनी मार्गचित्र तयार गर्नुपर्नेमा सबैको ध्यान केन्द्रित छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।