सामाजिक फीड-
जनकपुरधाम, असोज २९ गते।
नेपालमा मनसुन सकिएर ‘पोस्ट मनसुन’ सुरु भएसँगै देशका विभिन्न स्थानहरूमा चिसो बढ्न थालेको छ। पछिल्ला केही दिनमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले कतिपय क्षेत्रमा बदली र वर्षा भइरहेको छ। मौसमविद्हरूले चिसो मौसमको प्रारम्भिक चरणमा प्रवेश भएको र यस अवधिमा तापक्रम घट्दै गएको जनाएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २७ गते मनसुन नेपालबाट बाहिरिएपछि काठमाडौं उपत्यकामा तापक्रम क्रमिक रूपमा घट्दै गएको छ। काठमाडौंमा गत असोज १५ मा न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेकोमा अहिले १६ डिग्रीमा झरेको छ। शनिबार तापक्रम १४.७ डिग्री सेल्सियसमा पुगेको थियो।
मौसमविद्हरूका अनुसार देशभरका विभिन्न स्थानहरूमा पनि तापक्रमको गिरावट देखिएको छ, जसले चिसोको अनुभव गराइरहेको छ। यो अवस्थालाई ध्यानमा राख्दै उनीहरूले नागरिकहरूलाई चिसोबाट बच्न सावधानी अपनाउन सल्लाह दिएका छन्।
पोस्ट मनसुन अवधिमा पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन मौसममा बदली र हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।