सामाजिक फीड-
जनकपुरधाम, असोज १७ गते।
महोत्तरीको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ। मन्दिरको गर्भगृहमा चार फिटसम्म पानी जमेको छ, जसका कारण बडा दसैँको घटस्थापनामा मन्दिरमा जमरा राख्न सकिएको छैन।
मन्दिरका पूजारी रामप्रित गिरीका अनुसार, मन्दिरको गुफा, बाहिरी सतह, र मन्दिर जाने बाटोसमेत पानीले भरिएको छ। पानीले माताको प्रतिमा समेत डुबाएको छ, जसले पूजा र आराधनामा अवरोध पुर्याएको छ। मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको जानकारी दिइएको छ।
बाढी पाँच दिन अगाडि आएपछि मन्दिरको पानीको सतहमा कमी आएको छैन। जलेश्वर नगरपालिकाको सबैभन्दा होचो स्थानमा रहेको मन्दिर भएकाले डुबानको समस्या गम्भीर बनेको छ। पूजाआजा प्रभावित हुने देखिएको छ, भने पूजा समितिका अध्यक्ष अमितकुमार साहले नगरपालिकालाई दमकल मार्फत पानी निकाल्न आग्रह गर्दा पनि चासो नदेखाइएको गुनासो गरेका छन्।
यस अवस्थाले गर्दा दसैँको परम्परागत पूजामा प्रभाव परेको छ, भने मन्दिरमा नियमित आराधनाका लागि भक्तजनलाई समस्या भोग्नुपरेको छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।