सामाजिक फीड-
जनकपुरधाम, असोज १५ गते।
मौसम विभागका अनुसार आईतबारदेखि केही सुधार देखिएको मौसम बुधबारबाट फेरि प्रभावित हुनसक्ने देखिएको छ। तराई मधेशका जिल्लाहरूमा आईतबारदेखि घाम लाग्न थाले पनि मंगलबारसम्म मौसम पूर्ण रूपमा सफा भएको छैन। जल तथा मौसम विभागको अनुमान अनुसार बुधबारदेखि फेरि देशका केही भागमा वर्षा हुन सक्ने सम्भावना छ।
आज (मंगलबार) पूर्वी नेपाल, विशेषगरी कोशी प्रदेशमा अपराह्नपख हल्का वर्षा हुने सम्भावना छ भने बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने तर वर्षा धेरै नहुने अनुमान गरिएको छ। बुधबारदेखि गण्डकीदेखि कोशीसम्मका क्षेत्रमा अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको छ, तर पश्चिम नेपालमा भने वर्षाको संभावना कम छ।
गत हप्ता बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीले नेपालमा भारी वर्षा गराएको थियो, जसले लुम्बिनी प्रदेशसम्म व्यापक प्रभाव पारेको थियो। मौसमविद्हरूका अनुसार यस वर्षको मनसुन समयभन्दा लम्बिने देखिएको छ, जसका कारण दशैंमा समेत वर्षा हुने सम्भावना रहेको छ।
यो वर्षको मनसुन अवधिमा सरदरको तुलनामा ११६ प्रतिशत बढी वर्षा भइसकेको छ, जसमा विराटनगर, धरान, पोखरा, सिमरा, र अन्य क्षेत्रहरूमा अत्यधिक वर्षा मापन गरिएको छ।
नेपालबाट मनसुन असोज १६ मा बाहिरिनुपर्ने भए पनि यसपटक केही दिन लम्बिने देखिएको छ, जसले दसैंका अवसरमा पनि पानी पर्ने सम्भावना प्रबल बनाएको छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।