सामाजिक फीड-
जनकपुरधाम, असोज ८ गते ।
जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ सुरु भएको छ। सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति र पारिवारिक सुख-शान्तिका लागि मनाइने यो पवित्र पर्व नहा खा (नुहाएर खानु) विधि अनुसार धार्मिक ढंगले मनाइँदैछ।
मिथिला पञ्चाङ्गअनुसार, जितिया व्रतको विधि आज मंगलबारबाट सुरु भएको हो, जसमा व्रतालु महिलाहरुले बिहान ४ बजेदेखि उपवास बस्ने व्यवस्था गरेका छन्। यस वर्ष असोज ९, बुधवार साँझ ५ः१५ बजे जितिया व्रत पारण गर्ने पञ्चांगमा उल्लेख गरिएको छ।
जितिया पर्व मिथिलाञ्चलमा मनाइने विभिन्न व्रतहरूमध्ये एक महत्वपूर्ण र पवित्र व्रत मानिन्छ। व्रतको क्रममा उपवास बसेका महिलाहरुले कुनै प्रकारको गल्ती गर्न नपाउने र डकार गरेमा वा मुखले खकार वा जिब्रो टोकेमा व्रत असफल भएको मानिन्छ।
आजको दिन विशेष तयारीका साथ विभिन्न धार्मिक विधि गरिँदै छ, जसले परिवारका सदस्यहरूको सुख-शान्तिका लागि कामना गर्दछ। जितिया पर्वको अवसरमा मिथिलाञ्चलका महिलाहरुको उत्साह र श्रद्धा झल्किरहेको छ।