सामाजिक फीड
जनकपुरधाम,भाद्र २३
सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्ने सेवाग्राहीहरुलाई अब स्मार्ट कार्डको सट्टा फोटो र क्यूआर कोडसहितको रसिद दिने व्यवस्था गरेको छ। तत्काल स्मार्ट लाइसेन्स वितरणमा समस्याका कारण सरकारले यो अस्थायी उपाय अवलम्बन गरेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट कार्ड वितरणमा देखिएको ढिलाइलाई सम्बोधन गर्न यो नयाँ योजना ल्याइएको जानकारी दिनुभयो। ट्राफिक प्रहरीले पनि क्यूआर कोड पढ्न सक्ने मेसिन उपलब्ध गराउने योजना रहेको छ, जसले गर्दा यातायात नियन्त्रणमा थप सहजता आउनेछ।
हालसम्म ट्रायल पास गरेका करिब १५ लाख सेवाग्राहीले स्मार्ट कार्ड प्राप्त गर्न नसकेको अवस्था छ। यातायात व्यवस्था विभागले हालको मेसिनले नयाँ खरिद गरिएका कार्ड रिड गर्न नसक्दा समस्या उत्पन्न भएको हो। यस समस्याको समाधानका लागि संघीय सरकारले प्रदेश सरकारलाई अत्यावश्यक बाहेक अन्य कार्ड आफैं छाप्न आग्रह गरेको छ।
सरकारले समस्या समाधानका लागि भौतिकमन्त्रीको संयोजकत्वमा विशेष समिति पनि गठन गरेको छ। बागमती प्रदेशले कार्ड आफैं छाप्नको तयारी गरेसँगै अन्य प्रदेशले पनि सोही अनुसार तयारी गरेको जनाएका छन्। एक वर्षको अवधिमा पनि सवारी चालक अनुमतिपत्र वितरण गर्न नसक्दा सरकारले आलोचनाको सामना गर्नुपरेको छ।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।