सामाजिक फीड
जनकपुरधाम, श्रावन २७
जनकपुरधाम, शुक्रबार: जनकपुरधाममा दोस्रो एंटरप्रेन्योर मिट सफलता पूर्वक सम्पन्न भएको छ। नव मिथिला फाउण्डेशनको आयोजनामा भएको यस कार्यक्रममा उद्यमशीलतामा रुचि राख्ने युवाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न क्षेत्रका सफल एंटरप्रेन्योरहरू तथा विशिष्ट व्यक्तिहरूले आफ्नो अनुभव र ज्ञान साझा गरेका छन्।
कार्यक्रममा मोटिभेशनल स्पीकर मानसी अग्रवालले उद्यमशीलताको महत्व र चुनौतीहरूबारे युवाहरूसँग आफ्ना विचार प्रस्तुत गरिन्। आर्किटेक्ट इन्जिनियर मनिषा साहले निर्माण क्षेत्रमा उद्यमशीलताको सम्भावनाबारे जानकारी दिइन्, जबकि मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक श्याम महासेठले वित्तीय साक्षरता र व्यवस्थापनको महत्वलाई जोड दिए।
कार्यक्रममा एंटरप्रेन्योर रञ्जित आचार्य र सञ्चारकर्मी दिलभुषण पाठकले पनि आफ्नो अनुभव बाँड्दै युवाहरूलाई प्रेरित गरे। उनीहरूले जीवनमा सफलता हासिल गर्नका लागि निरन्तर प्रयास र संघर्षको आवश्यकतामा जोड दिए।
उद्योग, वाणिज्य तथा पर्यटन राज्य मन्त्री शम्भु साहले युवाहरूलाई आफ्नो देशको मौलिकतालाई ध्यानमा राखेर उद्यम गर्न प्रेरित गरे। नगरप्रमुख मनोजकुमार साहले जनकपुरधामका उद्योगी व्यवसायीहरूको हितमा भइरहेको कामबारे जानकारी दिए।
यस कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिषरमण साह, तथा आयोजक नव मिथिला फाउण्डेशनका अध्यक्ष अमित साह लगायतले पनि आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको समापनमा सहभागी सबैलाई धन्यवाद दिँदै आयोजकले यस्ता कार्यक्रमले युवाहरूलाई उद्यमशीलतामा लाग्न थप प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।