Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, श्रावन १६

प्युठान नगरपालिका-१० बुढादेवी बजारमा भुस्बाङ खोलाको बाढी पसेर बजार र आसपासका बस्तीहरू डुबानमा परेका छन्। स्थानीयबासीका अनुसार कम्तीमा १२ घर डुबानमा परेको छ, जसमा पुरानो गाविस भवन र एउटा कृषि फार्म पनि समावेश छन्। पार्वती सुनार, डिल बहादुर सार्की, आत्माराम सुनार, गीता नेपाली, कृष्ण बहादुर केसी लगायतका घरहरूमा बाढीले क्षति पुर्याएको छ।

बाढीले केही घरहरू भत्काएको र कुखुरासहित पशुचौपाया बाढीमा बगेको छ। गत वर्षदेखि यहाँ बाढी पस्ने गरेको बताइएको छ।

यसैगरी, प्युठानको चकचके–दाङको भालुबाङ सडकखण्ड पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव केसीले जानकारी दिएका छन्। माण्डवी नगरपालिका-१ को गर्जेनीमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ, जसले रोल्पालाई पनि असर गरेको छ।

बाग्दुला–बिजुवार सडकखण्ड अन्तर्गत स्वर्गद्वारी बहुमुखी क्याम्पस नजिकैको सडकमा पनि खहरे खोलाको बाढी पसेर यात्रा असहज भएको स्थानीयहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *