सामाजिक फीड
जनकपुरधाम, ५ साउन २०८१, शनिवार
बाङ्गलादेश अहिले गम्भीर संकटमा छ, जहाँ १७ करोड जनसङ्ख्या भएको यस देशमा सडक प्रदर्शनहरू त नयाँ कुरा होइन, तर पछिल्ला सातामा भएका प्रदर्शनहरू अति तीव्र र हिंसात्मक भएका छन्।
विश्वविद्यालयका हजारौँ विद्यार्थीहरू सरकारी जागिरमा आरक्षण प्रणालीको विरोध गर्दै साता दिनदेखि आन्दोलनमा छन्। सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रता पाएका लडाकुहरूको आफन्तका लागि आरक्षित गरिएको एक तिहाइ जागिर प्रणालीको विरोधमा विद्यार्थीहरूले र्याली गरिरहेका छन्। उनीहरूले यो प्रणालीलाई भेदभावपूर्ण भन्दै क्षमताका आधारमा भर्ना गर्न माग गरिरहेका छन्।
शान्तिपूर्ण रूपमा सुरु भएको यो विरोध अहिले देशव्यापी अस्थिरताको कारण बनेको छ। प्रदर्शनको संयोजन गरिरहेकाहरूले प्रहरी र सत्ताधारी अवामी लीगको विद्यार्थी भातृ सङ्गठन ‘बाङ्लादेश छात्र लीग’ले शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेपछि आक्रोश व्यापक भएको छ। सरकारले ती आरोपहरूको खण्डन गरेको छ।

सोमवारयता झडपहरू भएका छन्, जसमा शुक्रवार सबैभन्दा हिंस्रक दिन थियो। बीबीसी बाङ्लाका अनुसार शुक्रवार कम्तीमा ५६ जनाको मृत्यु भएको छ। कुल ६७ जनाको ज्यान गएको छ भने इन्टरनेट र टेलिफोन सेवा बन्द गरिएको छ, जसले हताहतको विवरण पाउन कठिन बनाएको छ।
डा. समिना लुत्फा, ढाकाका युनिभर्सिटीकी समाजशास्त्रकी सहायक प्राध्यापकका अनुसार, “अब त्यहाँ विद्यार्थीहरू मात्र छैनन्, यस विरोध आन्दोलनमा अब सबै खाले मानिसहरू जोडिएका छन्।”
अर्थतन्त्र द्रुत गतिमा वृद्धि भए तापनि, उक्त विकासले विश्वविद्यालय उत्तिर्ण गर्नेहरूका लागि रोजगारी सिर्जना गर्न नसकेको विज्ञहरूको ठहर छ। झण्डै १ करोड ८० लाख बाङ्लादेशीहरू जागिरको खोजीमा छन्।
गतिमान साह सामाजिक फीडका संवाददाता हून् ।