एजेन्सी । ओपनएआईका संस्थापक तथा सीईओ शाम अल्टम्यानलाई बर्खास्त गरिएको छ । कम्पनीको बोर्ड बैठकले अल्टम्यानलाई सीईओ पदबाट बर्खास्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
कम्पनी र बोर्डप्रति जवाफदेही र जिम्मेवार नभएको ठहर गर्दै शुक्रबार अल्टम्यानलाई बर्खास्त गरिएको कम्पनीले जनाएको छ । उनको बर्खास्तीको कारणबारे त्यसभन्दा बढी खुलाइएको छैन । उनलाई बर्खास्त गरेको खबरले कम्पनीका कर्मचारी पनि अचम्मित भएका छन् ।
सीईओको बर्खास्तीपछि ओपन एआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रकम्यानले पनि अध्यक्षबाट राजीनामा दिएको रोयटर्सले जनाएको छ। ग्रेगले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटरमा) मार्फत् आफूले पद त्याग गरेको घोषणा गरेका हुन् ।
ओपनएआइले गत वर्षको नोभेम्बरमा च्याटजीपीटी लञ्ज गरेको थियो । यसले वर्षदिनमै विश्वभर लोकप्रियता कमाएको छ।अल्टम्यानको बर्खास्तीसँगै ओपनएआईका प्रविधि प्रमुख मिरा मुराती कार्यवाहक सीईओ तोकिएकी छन् ।