सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ३० गते ।
सर्लाहीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका ११, कडरियाका ८० वर्षीय मानबहादुर राई छन् ।
प्रहरीका अनुसार बुधबार राति हरिपूर्वाबाट काठमाडौंका लागि छुटेको ना६ख ९११७ नम्बरको बसले हरिवनको कडरिया चोकमा राईलाई ठक्कर दिएको थियो ।
बुधबार साँझ सडक पार गर्ने क्रममा बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्ध राईको उपचारका क्रममा बुधबार राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ । चालक फरार रहेका र बस व्यवसायी संघ तथा बस धनीसँग समन्वय गरी खोजी भइरहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
बसमा रहेका ८ जना यात्रुलाई बुधबार राति नै अर्को बसमा चढाएर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।