काठमाडौँ, १५ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने भ्रमण पूरा गरी फर्किएका छन् । बुधबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासचिव गुटेरेसको बिदाइ गरेका छन् ।
यस अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत पनि अर्पण गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते यहाँ आएका थिए । महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
त्यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपीशर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग पनि महासचिव गुटेरेसको भेटवार्ता भएको थियो ।
भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत गएका थिए । उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । गुटेरेसले मंगलबार संघीय संसदमा सम्बोधन पनि गरेका थिए ।