एजेन्सी । इजरायलले गरेको हमलामा आफ्नो परिवार नै गुमाएका अल-जजिराका टेलिभिजनका वरिष्ठ पत्रकार वाएल अल-दहदौह घटना भएको २४ घण्टा नबित्दै काममा फर्किएका छन् ।
बुधबार भएको इजरायली हवाई आक्रमणमा परी अल-जजिरा मिडिया नेटवर्कका गाजा ब्यूरो प्रमुख दहदौहका श्रीमती र दुई छोराछोरीको मृत्यु भएको थियो । दहदौहका नाति र परिवारका अन्य आठ सदस्य पनि आक्रमणमा मारिएका थिए ।
उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका उनीहरूको इजरायलले गरेको रकेट आक्रमणबाट मृत्यु भएको थियो । अल-जजीराका अनुसार उनीहरू गाजाको नुसिरत शरणार्थी शिविरमा बस्दै आएका थिए ।
एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै पत्रकार दहदाैहले भने, ‘काममा फर्कनु मेरो कर्तव्य थियो । तपाईले देख्न सक्नुहुन्छ, जताततै गोलीबारी जारी छ। त्यहाँ हवाई आक्रमण जारी छ।’
इजरायलले अक्टोबर १३ मा उत्तरी गाजामा बस्नेहरूलाई दक्षिणतर्फ जान चेतावनी दिएपछि उनीहरू त्यहाँ सरेका थिए । यसैबीच, अल जजीराले इजरायलले निर्दोष व्यक्तिहरूको हत्या गरिरहेको भन्दै कडा आपत्ति जनाएको छ ।