मुम्बई । एक व्यक्तिले भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की दिएका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्षसमेत रहेका अम्बानीलाई इमेलमार्फत् यस्तो धम्की आएको हो ।
ती व्यक्तिले इमेलमार्फत् अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरे मार्ने धम्की दिएको मुम्बई प्रहरीले जनाएको छ । यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका हुन् ।
समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले गादेवी पुलिस स्टेशनमा आईपीसीको धारा ३८७ र ५०६ (ई) अन्तर्गत मुद्दा दर्ता गरेको छ।
यसअघि गत वर्ष पनि मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिने बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो । उक्त व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल उडाउने धम्की दिएका थिए ।