Skip to main content

एजेन्सी-
जनकपुरधाम, कार्तिक १० गते ।

जासुस गरेको अभियोगमा कतारको अदालतले ८ जना भारतीय नागरिकलाई मृत्यु दण्ड हुने फेसला सुनाएको छ।

कतारको दोहामा पक्राउ परेका आठ जना पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्यु दण्डको फैसला सुनाएको भारतको विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ।

सन् २०२२ को अक्टोबरदेखि कतारमा कार्यरत लरहेका उनीहरुमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोपमा अदालतले मृत्यु दण्डको फैसला सुनाएको हो।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कतारी अदालतको फैसलाबाट स्तब्ध भएको बताएको छ ।

‘कतारको कोर्ट अफ फर्स्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा मृत्यु दण्डको फैसला सुनाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मृत्यु दण्डको फैसलाले हामी स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतिक्षामा छौँ।’

आफ्ना नागरिकलाई मृत्यु दण्ड दिने कतारी अदालतको फैसलालाई उच्च महत्त्व दिने भन्दै भारतले सबैका परिवारलाई कुटनीतिक तथा कानूनी सहायता प्रदान गरिने जनाएको छ।

‘हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त हुने छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *