Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २१ असोज । इजरायलमा भएको आक्रमणसँगै १२ नेपाली विद्यार्थी सम्पर्कविहीन भएको सरकारले जानकारी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले यस्तो जानकारी दिएका हुन् ।

दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेका विद्यार्थीहरू सम्पर्कविहीन भएको पनि उनले जनाएका छन् । किबुज अलुमिममा १७ नेपाली विद्यार्थी रहँदै आएकोमा तीन जना घाइते र दुई जना सकुशल अवस्थामा रहेको पनि मन्त्री साउदले जानकारी दिएका छन् । घाइतेको उपचार भइरहेको छ भने सम्पर्कविहीन भएकाहरूको अवस्थाको यकिन गर्न नसकिएको उनले जानकारी दिए ।

घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका काम भइरहेको पनि मन्त्री साउदले जानकारी दिए । मन्त्री साउदका अनुसार इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत रहेका छन् ।

त्यस्तै, २६५ नेपाली विद्यार्थी इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत गएका मध्ये कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् । सम्पर्कविहीन भएकाहरू सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थी हुन् । प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!