काठमाडौँ, २१ असोज । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको प्रतिष्ठानमातहत् सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको अख्तियारले आरोप लगाएको छ ।
सर्प पालन कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री विजयकुमार यादवसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रदेश सरकारले सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि आर्थिक वर्ष २०७६/०७७ मा बजेट छुट्याएको थियो ।
१७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट संघीय सरकारबाट समपूरक अनुदानबाट प्राप्त भएको थियो । अख्तियारले प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी कानुन विपरित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरी बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरेको ठहर गरेको हो ।
भ्रष्टाचार आरोपित ७ जनाबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुलउपर तथा भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना समेत गर्न अख्तियारले माग गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजायसमेत मागदाबी गरिएको छ ।