सामाजिक फीड-
जनकपुरधाम, असोज १७ गते ।
अपायक ठाउँमा सरुवा गरिदिएपछि समस्यामा परेका शिक्षक ब्रम्हदेव पासवान पहिलाकै विद्यालयमा पढाउन पाउने भएका छन् । उनलाई बाराको जीतपुर उपमहानगरपालिकाका सिमराकै नेपाल राष्ट्रिय माविमा पढाउन पाउने व्यवस्था उपमहानगरले मिलाएको छ ।
गत १८ भदौमा उपमहानगरपालिकाको शिक्षा समितिले दरबन्दी मिलान भन्दै प्रावि तहका शिक्षक पासवानलाई हरपुरको नेपाल राष्ट्रिय माविमा सरुवा गरेको थियो । तर नयाँ विद्यालयले हाजिर गर्न नदिएपछि उनी ९ असोजमा गुनासो लिएर उपमहानगरपालिका कार्यालय पुगेका थिए । नगर उपप्रमुख भोलाप्रसाद अधिकारी भन्छन् ‘यताबाट पनि रवानापत्र लिएर गएको र गएको विद्यालयले पनि हाजिर गर्न नदिएपछि समस्या भएको थियो, आजदेखि समाधान भएको छ ।’
शिक्षक पासवान पढाइमा तीक्ष्ण, सिमराकै नेपाल राष्ट्रिय माविबाट एसएलसी उतीर्ण र आर्थिक अवस्था कमजोर भएका कारण व्यवस्थापन समिति र अभिभावकको अनुरोधमा पुरानै विद्यालयमा फर्काइएको उपप्रमुख अधिकारीले बताए । पासपानले २०३९ सालदेखि सिमराको नेपाल राष्ट्रिय माविमा पढाउँदै आएका थिए ।
प्राथमिक द्धितीय श्रेणीका शिक्षक पासवान ०४८ सालमा स्थायी भएका थिए । हाल ५८ वर्ष पुगेका उनको सेवा अवधि जम्मा २ वर्ष छ । सरुवा भएर गएको विद्यालयले हाजिर गर्न नदिएपछि समस्या लिएर उपमहानगरपालिका कार्यालय पुगेका उनाई उपमहानगरपालिकामै हाजिर गर्न लगाइएको थियो ।
दिनभरि पालिकामा गएर बस्नुपरेपछि राजीनामा दिने सोँच बनाइरहेकै बेला साविकको विद्यालयमा काम गर्न पाउने भएपछि खुशी लागेको शिक्षक पासवानले बताए ।
‘म शिक्षक हो । पालिका गएर हाजिर गरेर दिनभर बस्नको लागि मैले तलब पाएको होइन । त्यसैले अब म फोकटको तलब खान्न भनेर राजीनामा दिने सोँचमा थिएँ । अब दुई वर्ष शिक्षण गर्छु’, उनले भने ।
सिमराको नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक शंकर आचार्यले उपमहानगरपालिकाको पत्र आएकाले शिक्षक पासवानले विद्यालयमा हाजिर गर्न थालेको बताए ।
जितपुर सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले शिक्षक पासवानलाई काजमा काम गर्ने वातावरण मिलाएको बताए । ‘पालिकाले कार्यविधि अनुसार सरुवा गरेको थियो तर उहाँ सरुवा भएर गएको विद्यालयमा माध्यमिक तहको शिक्षक चाहिएकाले हाजिर गराउन नमान्दा समस्या भएको थियो अब समाधान भयो’, उनले भने ।