सामाजिक फीड-
जनकपुरधाम, असोज १३ गते ।
सप्तरीमा हत्या गरी बोरामा राखेर पोखरीमा पालेको अवस्थामा एक युवको शव फेला परेको छ । सप्तरीको खड्क नगरपालिका ११ बनौलीस्थित पोखरीमा अन्दाजी २० वर्षीय युवकको शव सडेगलेको अवस्थामा बोरामा भेटिएको हो ।
शव स्थानीय २० वर्षीय मो.अजिमको हुन सक्ने प्रहरीको आशंका छ । कृष्णष्टमीको दिन मेला हेर्न घरबाट हिडेका मो.अजिम घर फर्केका छैनन् । उनको परिवारजनको अनुरोधमा प्रहरीले खोजतलास गर्दै आएको थियो । तर फेला नपरेपछि हत्या गरेर पोखरीमा फालेको हुन सक्ने आशंकामा प्रहरीले स्थानीय तीनवटा पोखरीमा सर्च अप्रेसन चलाएको थियो ।
आज बिहानै घर नजिको पोखरीमा शव हुन सक्ने भन्ने आशंकामा जाल फालेर खोजविन गर्दा एउटा पोखरीमा दुईवटा बोरामा शव भेटिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जनानकारी दिए ।
उनका अनुसार दुईवटा प्लास्टिकको बोरामा सडेगलेको अवस्थामा भेटिएको हो । ‘एउटा कम्बलसहित टाउकोको भाग र शरीरको भाग भेटिएको छ । सडेगलेकाले हराएकै युवकको हुन भनेर कन्फर्म भन्न सकिने अवस्था छैन । तर उही हुन सक्छ भन्ने आशंका छ’ डिएसपी न्यौपानेले अनलाइनखबरसँग भने ।
शवलाई पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । पश्चात मात्र शवको सनाखत हुन सक्ने डिएसपी न्यौपानेले बताए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।