बेइजिङ, ७ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बेइजिङ पुगेका छन् । हाङ्जाओबाट बेइजिङ पुगेका दाहालले कूटनीतिक भेटवार्ता गर्नुका साथै नेपाल-चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् ।
यसअघि शनिबार उनले हाङ्जाओमा एसियाली खेलकुद उद्घाटन समारोहमा भाग लिएका थिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका दाहाल त्यतैबाट चीन पुगेका हुन् । हाङ्जाओमै दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गरेका थिए ।
बेइजिङमा भने दाहालले चिनियाँ समकक्षी लि खछ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आज हुने नेपाल–चीन बिजनेस समिटलाई उनले सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् ।
सम्मेलनमा नेपाल र चीनका १०० भन्दा बढी उद्योगी-व्यवसायी सहभागी हुँदैछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुने बताइएको छ ।