Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, असोज १ गते ।

तराई मधेशमा आज श्रद्धा एवं निष्ठापूर्वक चौठचन्द्र (चौरचन) पर्व नाइँदै छ।

मधेश क्षेत्रमा मनाइँने महत्वपूर्ण पर्वमध्ये एक चौरचन पर्व भदौ शुक्ल चतुर्थीको दिन मनाउने गरिन्छ ।

फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ।

चौठचन्द पर्वका दिन व्रतालु निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको रुपमा अर्पण गरिन्छ । 

पर्वकै अवसरमा आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।

यस क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी-देवतालाई चढाइने गरिन्छ ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घर-घरमा महिलाहरु प्रसाद तयार बनाउन व्यस्त छन् । आजको दिन लोकपर्व चौठचन्द मनाउने क्रममा गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रही आएको छ ।

यस पर्वको प्रारम्भ तत्कालिन नरेश हेमांगद ठाकुरले गरेका थिए।

उनी नरेशका अतिरिक्त प्रख्यात ज्योतिष समेत थिए। चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने धार्मिक विश्वास रहेकाले मिथिलाञ्चलसहित मधेशमा घर–घरमा यो पर्व मनाउन थालियो ।

चौठचन्द्र पर्व जनकपुरधाम सहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत मनाईन्छ । हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गर्दछन्।

भदौ शुक्ल चौथीका दिन मनाइँने चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माँझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने मैथिल परम्परा छ।

पर्व समापनपछि चढाइएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने समेत परम्परा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!