Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २४ गते ।

स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा लगाएको कर्फ्यू हटाएको छ । आज बिहान ८ बजेदेखि जिल्ला प्रशासन कार्याय सर्लाहीले सूचना जारी गर्दै कर्फ्यू हटाएको हो ।

मुर्ती सेलाउने क्रममा शुक्रबार साँझ हिन्दु र मुस्लिम समुदायबिच झडप भएर तनाब बढेपछि प्रशासनले शनिबार साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि मलंगवा बजार क्षेत्रमा कर्फ्यू लगाएको थियो ।

शान्ति सुरक्षाको अवस्था सामान्य रहेकोले आज बिहान ८ बजेदेखि कर्फ्यू हटाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रवेद यादवले निषेधज्ञा सूचना जारी गर्दै जानकारी गराएका छन् ।
यधपी कर्फ्यू हटाएपनि प्रशासनले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै भदौ २७ गते राति १२ बजेसम्मका लागि सो क्षेत्रमा निषेधज्ञा जारी गरेको छ ।

साविक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने निषेधाज्ञा लगाएको हो ।

‘…स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (२) (१) र दफा ६ (ख) को (१) (ग) बमोजिम आज मिति २०८०।०५।२४ गते विहान ८ः०० बजे देखि मिति २०८०।०५।२७ गते राती १२ः०० बजे सम्मको लागि निषेधाज्ञा जारी गरिएको व्यहोरा अनुरोध छ’, निषेधाज्ञामा अघि लेखिएको छ ‘मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको सरक्षण, समाजिक सद्भाव कायम राख्न सबैमा अनुरोध समेत गर्दछौं । सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न÷नगराउन हार्दिक आह्वान गर्दै सामाजिक सद्भाव कायम राख्न सबैमा जानकारीको लागि सार्वजनिक हितमा सूचना जारी गरिएको छ ।’

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस र हवाई फायर समेत गरेको थियो । शनिबार दिनभर तनाव कायाम रहेकर पुनः सम्भावित घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यू लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!