बीबीसी । भारतले सूर्यको अनुसन्धान गर्न ‘आदित्य L1’ यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। दक्षिण भारतमा पर्ने श्रीहरिकोटाबाट शनिबार यो यान प्रक्षेपण गरिएको हो । भारतीय अन्तरिक्ष निकाय इसरोले अन्तरिक्ष यान रकेटबाट छुट्छिएर आफ्नो लामो यात्रा सुरु गरिसकेको जनाएको छ।
सूर्य मिसन भए पनि यो अन्तरिक्ष यान सूर्यको नजिकै भने जाने छैन । आदित्य-L1 पुग्नु पर्ने दूरी पृथ्वीबाट १५ लाख किलोमिटर छ । जुन पृथ्वी र चन्द्रमा बीचको दूरीको चार गुणा हो । तर त्यो सूर्य र पृथ्वी बीचको दूरीको झण्डै एक प्रतिशत मात्र हो । पृथ्वीदेखि सूर्यको दूरी भने १५ करोड १० लाख किलोमिटर छ।
यस मिसनले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्नेबारे समेत अध्ययन गर्नेछ। सौर्य आँधीको प्रक्रियाकाबारे समेत थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ् विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन्।
अन्तरिक्ष निकाय इसरोले उक्त दूरी तय गर्नका लागि चार महिना लाग्ने जनाएको छ। आदित्य-L1 को नाममा उल्लेख भएको L1 ले लाग्राञ्ज पोइन्ट भनिने अन्तरिक्षको निश्चित स्थानलाई जनाउँछ जहाँ अन्तरिक्षका सूर्य र पृथ्वी जस्ता दुई विशाल खगोलीय पिण्डहरूबीचको गुरुत्वाकर्षणको शक्ति बराबर अथवा सन्तुलित अवस्थामा रहेको हुन्छ।
त्यस्तो सन्तुलित गुरुत्वाकर्ण भएको क्षेत्रलाई अन्तरिक्ष यानले इन्धन खपत घटाउनका लागि प्रयोग गर्न सक्छ। त्यस्तो क्षेत्रको नाम फ्रान्सका गणितज्ञ जोसेफ-लुई लाग्राञ्जको नामबाट राखिएको हो जसले १८औँ शताब्दीमा पहिलोपटक त्यसबारे अध्ययन गरेका थिए। भारतीय अन्तरिक्ष यानले जम्मा सातवटा भारीहरू ‘पे लोड’ बोकेको छ जसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ। र त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टरजस्ता उपकरणको प्रयोग गरिनेछ। एक पटक यसको कक्षमा स्थापित भैसकेपछि यो अन्तरिक्ष वेधशालाले ‘सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ।’
यसले वायुमण्डलबाट छानिएर आउने हुनाले पृथ्वीबाट अध्ययन गर्न नसकिने रेडिएशन अर्थात् विकिरणको अध्ययन गर्न पनि सघाउने छ। यसको विशेष अन्तरिक्ष अवस्थितिका कारण यो यानमा रहने चारवटा ‘पे लोड’ हरूले सूर्यलाई सिधा अवलोकन गर्नेछन्।
बाँकी तीन वटा पेलोड्सले चाहिँ लाग्राञ्ज विन्दू L1 मा रहेका कणहरू र प्रभाव क्षेत्रहरूको अध्ययन यानमा नै रहेर अध्ययन गर्नेछन्। त्यसबाट विभिन्न ग्रहहरूबीचका अन्तरिक्षमा रहेका स्थानहरूमा सौर्य गतिविधिका प्रभावहरूबारे महत्त्वपूर्ण जानकारीहरू प्राप्त हुनेछन्।
इसरोले यो मिसनले कोरोनल हिटिङ, कोरोनल मास इजेक्शन, सोलार फ्लेअर्स जस्ता सौर्य गतिविधि र तिनका गुणहरूका साथै अन्तरिक्षको मौसमका प्रकृयाहरूबारे महत्त्वपूर्ण जरूरी जानकारीहरू प्रदान गर्ने आशा व्यक्त गरेको छ। गत साता भारत सफलतापूर्वक चन्द्रमामा अवतरण गर्ने चौथो देश बनेको थियो जहाँ यसअघि अमेरिका, रुस र चीन पुगेका छन्।