शैलेन्द्र क्रान्ति
जनकपुरधाम, भदौ १५ गते ।
‘रे कोन नेता कथि देतै रे ! सभ अपनाला हरान है । गरिबके देखबला कोइ नै है । खाली भोट लैला आउतौ,’ कोही नेता नै दैलोमा आएको भान भएपछि आक्रोश पोख्दै उनी एकछिन मनभरी गाली गर्दै रिस पोखिन् । चुनावताका कैयन सपना बाँडेर गएका नेता जितेपछि अवस्था बुझ्न समेत नआएपछि सिरहा नगरपालिका– १७ खयरटोकाकी ७० वर्षीया पलासदेवी नेतालाई देख्नासाथ झर्किन्छन् । यतिबेला उनलाई मात्र होइन, परिवारका सदस्यलाई समेत वितृष्णा छ । कारण हो, आफैसहित थप चारछोराको परिवार विस्थापित हुने पिरलो ।
उनको घर अगाडीको सडक नेपाल भारत सीमा क्षेत्र माडरदेखि सिरहा सदरमुकाम हुँदै मिर्चैया र चोहर्वा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । सडक विस्तारको क्रममा ७२ फिट चौडा बनाउने भन्दै नापी गरेपछि पलास देवीको अब केही जग्गा मात्रै बाँकी रहन्छ । दशकौं अघि उनको पति गोपी सदाले १२ धुर नम्बरी जग्गा जेनतेन जोडेका थिए । पहिलाकी जेठी सौतेनी आनन्दीदेवी र उनको आफ्नै गरेर ६ छोरा छन् । विषुण सदा, वद्री सदा, किसुन सदा, राजदेव सदा, शिव सदा र करिया सदा । जेठो विषुण र वद्री बाहेक अहिले चार छोराको ससानो झुपडी त्यही जग्गामा छ । विषुण ससुराली धनुषाको भलुवाहामा बस्छन् भने वद्री ससुराली भारत विहारको मधुवनी जिल्ला कुमर खत महुलियामा ।
यसअघि दुईपटक सडक बन्दा घर भत्काएको पलास देवी विगत सम्झिन्छन् । तेश्रो पटक पुनः उनको घर भत्काउनु पर्ने अवस्थामा पुगेको हो । ‘अहि से पहिने दुबेर सडक बनलै । दुनु बेर हमर घर टुटलै । इ तेसर बेर है’ पलास देवीले चिन्ता व्यक्त गर्दै प्रश्न गरिन् ‘आब कत जेबै हमसभ?’
जग्गा अभावकै कारण जेठो छोरा विषुण र माहिलो वद्री विहेपछि ससुरालीमै बस्न थाले । सौतेनी आनन्दी धेरै पहिला बिते । पति गोपी १२ वर्षअघि दम रोग लागेर बिते ।
गरिबी विपन्नताले उनीहरुको झुपडी फुसको राम्रो घर समेत बन्न सकेको छैन । अहिले भएका सबै झुपडी वर्षामा चुहिन्छ । वर्षातमा हिलो उनको ओछ्यानसम्मै पुग्छ । हिलो सुमसुमाएर जसोतसो त्यस्तै घरमा बस्नुपर्ने बाध्यता छ । पालासदेवीका छोराबुहारी नाति पनाती दिनरात काट्छन् । जोगिन सबै छानोमा प्लास्टिक विछ्याइएको छ । तर पनि वर्षाको ओस भित्रसम्मै पुगेर हिलैहिलो हुन्छ । कुनै सरकार, जनप्रतिनिधि र नेता फर्केर हेर्दैनन् । नत सहयोग गर्छन् । ‘देखैछियै वर्षामे घर चुवै है । कोनो सरकार, नेता किछ नै देलकै । आब अपने से सभ पाल्सिटक किन किनक बिछौने है’ पलास देवीले भनिन् । तर सुखदुख गरी बसेको यो झुपडीमा अब त्यसरी पनि बस्न नपाउने चिन्ताले उनीहरुलाई दिनरात पिरोलेको छ । ‘आब अहु मे से जाय परतै’ पलास देवीले चिन्ता व्यक्त गरिन् ।
गत वैशाख महिनामा सडक डिभिजन कार्यालय लहानले सिरहा सदरमुकाममा दुई किलोमिटर सडक विस्तारको काम थाल्ने भन्दै नापी तथा खाली गराइदिन नगरपालिकालाई पत्राचार गरेको थियो । नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने माडरसम्मको सडक नापजाँच गरी विस्तारको लागि संरचना तथा घरटहरा हटाउन सूचना जारी गर्यो । त्यसै क्रममा ७२ फीडमा पलास देवीका छोराका घरहरु पर्यो । नगरपालिकाको डोजर नै आयो । केही घरको टाट (भित्ता) तोड्यो । र पछि तोड्ने सर्तमा रोकियो । त्यतिमा अड्किएको उनको घर कुन दिन डोजरले भत्काउने ठेगान छैन । यो त्रासले उनीहरुको निन्दचयन उडेको छ ।
गरिबी अशिक्षाको चरम चपेटामा रहेका पलास देवीको कान्छो छोरा करिया सदाको मात्रै ६ छोराछोरी छन् । ६ महिनादेखि ११ वर्षको ६ बालबच्चालाई जनमजदुरी गरि पालिरहेका छन् । तर अब घर भत्काए कता जाने करियाकी श्रीमती निर्मला देवीले चिन्ता व्यक्त गर्छिन् । ‘सरकारले हामीलाई कतै बसाइदिदा हुन्थ्यो । यी ससाना छोराछोरीलाई लिएर हामी कहाँ जाने ?’ निमर्ला भन्छिन् ।
पलासदेवीको छोरा, नाति र पनाति गरी करिब ६० जना परिवारिक सदस्य छन् ।
यो चिन्ता पलास देवीको मात्र होइन । छेउमै रहेका उनको देवर लाग्ने ७० वर्षीय सीताराम सदाको त परिवार नै विथोलिएको छ । पाँच महिना अघिसम्म सीतारामको परिवार सुखदुख चलेको थियो । चार छोराको परिवार छुट्टै भएपनि एउटै घरमा बस्थे । दलित एवं विपन्न भएपनि स्थानीय गिरहतमा जनमजदुरी गरी वर्षौदेखि छोराबुहारी नातिसंगै बस्दा सीतारामलाई जीवनको उत्तरार्धमा खासै चिन्ता थिएन । उनले पैसा तिरेरै दशकौं अघि १० धुर ऐलानी जमिन किनेका थिए । त्यसमै घर बनाएका थिए । चारछोरा,बुहारी नातिनातिनासहितको २० जनाको परिवार दुःखसुख गरि बसिरहेका थिए । जेठमा घर भत्काउन भनेपछि उनका तीन छोरापरिवारसहित विस्थापित हुने बाध्यता सृजना भयो । श्रीमती पच्ची सदाको केही महिना अघि परलोक भइन् । घरमा जेठो छोरा जैसी सदा, बुहारी अनिता र तीन नाति बस्छन् ।
‘गिरहतमा जनवन गरेर धेरै पहिले १० धुर घडेरी किनेको थिएँ । सडकमा पुरै गइदियो । जेठ महिनामा भत्काउन भन्यो । हतारहतार भत्काएँ’ सीताराम भन्छन् ‘सबैजनालाई बस्ने घर नै पुगेन । त्यसपछि तीनछोरा बुहारी बालबच्चा लिएर ससुराली गएर बस्न थाले ।’
आधा भन्दा बढी घर भत्काएपछि तीन छोरा ससुरालीमा बास बसिरहेका छन् । माइलो सिकिन्दर सदा पाँच सन्तानसहित ससुराली भारत बिहार मधुवनीको छतौनी बिहारमा शरण लिएका छन् । साइलो रासलाल श्रीमती र एक छोरीसहित ससुराली सिरहाकै बेल्हा र कान्छो मनोज सदा दुई छोराछोरीसहित भारत बिहारकै पोदमा ससुरालीमा बसिरहेका छन् ।
उनीहरु बीचबीचमा घर आउन थालेका छन् । तर बस्ने ठाउँ नभएर पुनः ससुराली नै फर्किने गरेको दुखेसो सीतारम सुनाउँछन् । ‘बीचबीचमा उनीहरु आउँछन् । तर बस्ने घर नै पुग्दैन । अनि फेरि फर्किन्छन्’ सीताराम भन्छन् ।
सरकारले आफूहरुलाई कतै व्यवस्थापन गरेर घर भत्काउनु पर्नेमा दलित भएकै कारण त्यसो नगरेको उनको गुनासो छ । ‘घर भत्काउनु भन्दा पहिले सरकारले हामीलाई कतै व्यवस्थापन गरिदिनु पथ्र्यो । खैरटोकामै ३÷४ विघा ऐलानी जग्गा छ । सार्वजनिक पोखरीको किनार छ । त्यसमै हामीलाई बसाइदिनुस् भनेर आग्रह गर्दा पनि मान्दैनन्’ सीताराम भन्छन् ‘हामीलाई दलित मुसहर भनेर नै व्यवस्थापन गरिएन । किन भने पहिलेदेखि नै यहाँ तल्लो जात मुसहर छन् भनेर कथित उपल्ला जातहरुले नराम्रो दृष्टिले हेर्छन्, व्यबहार गर्ने गर्छन् । मुसहर गएकै राम्रो भनेर हामीलाई विस्थापित गर्न खोजेका छन्’
यता नगरपालिकाका मेयर डा. नविन यादवले लहान सडक डिभिजन कार्यालयको सडक विस्तारको पत्र अनुसार नापजाँच गरी सडक खाली गराउने काम भइरहेको बताए ।
उनले सुकुम्बासी मुसहर परिवारहरुलाई उचित व्यवस्थापन गरी मात्र सडक खाली गराउने दावी गरे । ‘उनीहरुको व्यवस्थापन हामी नगरपालिकाबाट गर्छौं । सुकुम्बासी आयोगसंग कुरा हुँदैछ । विभिन्न चरणमा छलफल भएको छ’ मेयर यादव भन्छन् ‘नगरपालिका भित्रको पर्ती ऐलानी नापी काम पनि सुरु गर्दैर्छौ । उनीहरुको व्यवस्थापन कतै सरकारी एलानी मै गर्नुपर्छ नि !’