Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, ३० साउन । मन्त्रिपरिषद्ले भू-उपयोग नियमावली पास गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली संशोधन पारित गरेपछि लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुल्ने भएको छ ।

नियमावली संशोधनसँगै अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि नै कित्ताकाट खोल्ने तयारी गरेका थिए ।

गत वैशाखमा पनि मन्त्रिपयरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, त्यो संशोधनमा केही अस्पष्टता रहेका कारण कार्यान्वयन गर्न नसकिएको भन्दै भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका कार्यालयले कार्यान्वयन नगरेपछि पुनः नियमावली संशोधन गरिएको हो ।

मन्त्रिपरिषद्को बैठकपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, ‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।’ जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ ।

जग्गासँग जोडिएको सबै समस्या समाधान गर्ने गरी नियमावली संशोधन भएको र जग्गा कित्ताकाट, नामसारी लगायतका सबै काम अब सहज हुने विश्वास गरिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *