२१ साउन, जनकपुर । (नेप्से) परिसूचक अघिल्लो दिनको बन्दको तुलनामा ३८ दशमलव ३७ अंक वा १ दशमलव ८३ प्रतिशतले दोहोरो अंकले घटेर २ हजार ५१ दशमलव ४७ अंकमा बन्द भएको छ । यस दिन २ अर्ब ६८ करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर कारोबार भएको छ। घट्दो बजारमा कारोबार रकम बढ्नुलाई राम्रो मानिदैन। यसले बजारमा अझै धेरै बिक्री चाप बढेको संकेत गर्छ।
आधा दर्जन वाणिज्य बैंकहरुले लाभांश नै दिन नसक्ने गरी आएको रिपोर्टले सेयर लगानीकर्ता निराश देखिएका छन् । प्रतिक्रियास्वरुप साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ ।
कृषि विकास बैंक, पिपुल्स पावर, नेपाल एसबीआई बैंक डिभेन्चरसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । प्रोग्रेसिभ फाइनान्स, अभियान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।
आइतबार सानिमा बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया बैंक, शिवम् सिमेन्ट, ग्लोबल बैंकसहितका धितोपत्रको बढी कारोबार भएको छ ।