सामाजिक फीड-
जनकपुरधाम,साउन २० गते ।
महोत्तरीमा बोक्सी आरोपमा बर्बर यातना दिइ घर निकाला गरिएकी एक महिलाले पतिसहित तीनजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् । महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलदेवी (दास)ले श्रीमान् विनोद दासहित तीनजनाविरुद्ध प्रहरीमा शुक्रबार जाहेरी दिएकी हुन् । सौता (विनोदकी अर्की श्रीमती) शिलादेवी दास र धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– ४ फेछाहाका भगता (धामी) दिनेश यादवविरुद्ध उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिइन् ।
उनले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अन्तर्गत लिखित जाहेरी दिएकी हुन् ।
विनोदले आफ्नी अर्की श्रीमती शिलाको सहयोगमा आफूलाई बोक्सी आरोपमा कुटपिट गरेको तथा मानसिक यातना दिएको काजलको उजुरीमा उल्लेख छ । त्यस्तै, धामी यादवले ‘बोक्सी, भूतप्रेत हटाउने’ भन्दै १० दिन रातिराति मसानघाटमा बसाएको, परेवा र कोभिन्डोको बलि दिन लगाएर बोक्सी ठीक गरेर कसुर गरेको भनिएको छ ।
बोक्सी आरोपमा कुटपिट तथा यातना दिएपछि काजल १ साउनमा जिल्ला प्रहरीमा पुगेकी थिइन् । त्यतिखेर प्रहरीले कुटपिटको मात्र उजुरी लिएर तीन दिनपछि छलफलका लागि बोलाएको थियो । तर, ४ साउनमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र हुँदा बाहिर भने सम्बन्धविच्छेदसहित पिपरा गाउँबाट काजललाई निकाला गरिएको तमसुक बनाइएको थियो, जुन तमसुकमा काजलको पनि ल्याप्चे छ ।
काजलले शुक्रबार दिएको जाहेरीमा उल्लेख भएअनुसार छलफलका क्रममा विनोदले दुईवटा कागजमा सहीछाप गर, अब आइन्दा तँजस्ता बोक्सीलाई राख्दिनँ, समाजबाट नै बहिष्कार गर्छु भनेर जबर्जस्ती सहीछाप गराएका थिए ।
बोक्सी आरोपमा बर्बर यातनाबाट यसरी विस्थापित भइन् काजल, भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्