सामाजिक फीड-
जनकपुरधाम, साउन १९ गते ।
मधेश प्रदेशमा भोलिदेखि पानी पर्ने सम्भावना बढेको छ । मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको बताउँदै उनले भने, ‘भोलिदेखि मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसबाट कृषि कर्ममा आवश्यकता परिपूर्ति त नहोला तर केही दिनलाई भए पनि राहत भने हुने सम्भावना छ ।’
महाशाखाले तीन दिनको मात्रै मौसम पूर्वानुमान गर्ने भएकाले कति दिनसम्म पानी पर्छ भनेर ठोकुवा गरेर भन्न भने नसकिने उनको भनाइ छ । भोलि–पर्सिलाई मधेश प्रदेशमा पानी पर्ने सम्भावना रहे पनि सबैतिर एक नासको पानी भने नपर्ने उनको भनाइ छ ।
अहिले पानी पार्ने मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भागतिर सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) र पूर्वी भागतिर सरदर स्थानको दक्षिणतिर (भारततिर) अवस्थित छ । उक्त रेखा नेपालको पूर्वी भागतिर पनि केही दिनमै सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा छ ।
मौसमविद झाले भने, ‘आइतबारसम्ममा न्युनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सर्ने सम्भावना छ जसले गर्दा अलिकति एक्टिभिटीहरु बढ्छ ।’