काठमाडाैँ, १८ साउन । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यो निर्णय गरेको हो । साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।
संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि मात्रै उनले न्यायपालिकाको सर्वोच्च पद सम्हाल्नेछन् ।
सन् १९५९ अक्टोबरमा सिलगडी डोटीमा जन्मिएका श्रेष्ठ सन् १९८२ मा शाखा अधिकृतको अस्थायी नियुक्तिसहित कानुन तथा न्याय मन्त्रालयमा आबद्ध भएका थिए । उनीसँग जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा काम गरेको लामो अनुभव छ ।