सामाजिक फीड-
जनकपुरधाम, साउन ७ गते ।
धनुषा नजिक नेपाल भारत सीमा क्षेत्रमा गोली दागेर एक महिलाको हत्या भएको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बेल्ही स्थित दशगजा पारी एक ३५ वर्षीया महिलाको गोली दागेर हत्या भएको हो ।
घटना राति ८ः२० को हो । मोटरसाइकलमा सवार भएर दुईजनाको समूहमा आएका अज्ञात व्यक्तिले दुई राउन्ड गोलि प्रहार गरी भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै धनुषा प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
मृतक महिला नेपाली हुन् वा भारतीय परिचय खुलेको छैन ।
घटनास्थल सीमा पारी भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । उनका अनुसार दशगजामा प्रहार भएका गोलीका खोका भेटिएको छ ।
नेपाल प्रहरी र भारतीय प्रहरी समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए ।