काठमाडाैँ, ३१ असार । भारत सरकारले नेपालका विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरेको छ ।
आइतबार भारतीय राजदूतावासमा भएको समारोहमा नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई एम्बुलेन्स र बस प्रदान गरिएको हो । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा एम्बुलेन्स तथा स्कूल बसका चाबी हस्तान्तरण गर्नुभएको छ ।
समारोहमा राजदूत श्रीवास्तवले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपालले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सहयोग उपलब्ध गराइएको बताउनुभयो । उहाँले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशका रूपमा रहेको पनि बताउनुभयो । लामो इतिहास र विरासत बोकेको र नेपालका धेरै जसो भूभागमा फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेकोसमेत उहाँको भनाइ थियो ।

कार्यक्रममा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गर्नुभयो । उहाँले ती परियोजनाले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने पनि बताउनुभयो ।

समारोहमा विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारीलगायत उपस्थित थिए ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कूल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । सन् १९९४ यता भारतले ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको छ ।