महोत्तरी, २८ असार । महोत्तरीमा जनमत पार्टीका नेता तथा कार्यकर्ताले श्रमदान गरी धान रोपाइँमा सहयोग गरेका छन् । बिहीबार बिहान महोतरी गाउँपालिका-५ मा सार्वजनिक श्रमदानअन्तर्गत धान रोपाइँको कार्यक्रम गरिएको हो ।
धान रोप्ने मुख्य समयमा कृषि मजदुरको अभावका कारण रोपाइँ हुन नसकेपछि मधेशका एक मन्त्रीसहित जनमत पार्टीका नेता तथा कार्यकर्ताले श्रमदान गरेका हुन् ।

महोत्तरी गाउँपालिकाका स्थानीय कृष्ण साहले रोपाइँ हुन नसकेको बताएपछि पूर्वकृषि मन्त्रीसमेत रहेका बिनाविभागीय मन्त्री ई. बसन्त कुशवाहा, सांसद् अनिता साह, जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य ई. शम्भुनाथ साह, संजय स्वराजी, गैरआवासीय मधेशी संघ एनआरएमए महासचिव डा. श्याम महतोलगायतले रोपाइँ गरेका छन् । उनीहरूले करिब १ बिगहामा धान रोपाइँ गरेका छन् ।

त्यसक्रममा मन्त्री कुशवाहाले मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्न र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने पनि उहाँको भनाइ थियो ।