सिरहा, २५ असार ।
सिरहाको मिर्चैयाका मेयर श्रवणकुमार यादवले आन्दोलनकारीलाई अपशब्द भनेपछि लखेटिएका छन् । मिर्चैयाका स्थानीयवासीले आइतबार सदरमुकाम सिरहा पुगेर दबाबमुलक प्रदर्शन गरिरहेका बेला मेयर यादवले अश्लील गालीगलौज गरेपछि आन्दोलनकारी प्रतिकारमा उत्रिएपछि उनी भागेका हुन् ।
![](https://samajikfeed.com/wp-content/uploads/2023/07/New-Project-19-1024x544.jpg)
गाउँब्लकभित्रका करिब तीन दर्जन घर भत्काएको भन्दै स्थानीयवासीले करिब तीन महिनादेखि आन्दोलन गर्दै आएका छन् । घर भत्काइएकामध्ये स्थानीय लक्ष्मी साहले नगरपालिकाविरुद्ध सिरहा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दामा असार १९ गते अदालतले साहको निजी जग्गा रहेको ठहर गर्दै निजको सम्पतिको हकमा प्रतिकुल असर पर्ने गरी कुनै संरचना निर्माण नगर्न नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
![](https://samajikfeed.com/wp-content/uploads/2023/07/New-Project-22-1024x544.jpg)
यो आदेश आएसँगै मेयर यादवले फैसलामाथि पुनर्विचार गर्न आग्रह गर्दै अदालतलाई निवेदन दिएका थिए । पीडित स्थानीयवासीले भने मेयर यादवले न्यायपालिकासहित निकायहरूलाई प्रभावित पार्न खाजेको भन्दै आइतबार जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन् । अदालत अगाडि प्रदर्शन पश्चात् उनीहरूले नगरका विभिन्न ठाउँको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
![](https://samajikfeed.com/wp-content/uploads/2023/07/New-Project-20-1024x544.jpg)
प्रशासन कार्यालयभित्र प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसँग आन्दोलनकारीले आफ्नो समस्या राखिरहेका बेला मेयर सवार गाडी पनि हुँइकिँदै प्रशासन कार्यालय परिसर पुगेको थियो ।
त्यहीबेला मेयर यादवले प्रदर्शनकारी महिलाहरूलाई लक्षित गर्दै अश्लील गालीगलौज गरेका हुन् । मेयरले अपशब्द प्रयोग गरेको भन्दै प्रदर्शनकारी प्रतिकारमा उत्रिएपछि मेयरको गाडी हुँइकिँदै भागेको थियो । त्यसक्रममा आन्दोलनकारीलाई मार्ने मनशायले भिडमा मेयरले गाडी चलाउन लगाएको प्रदर्शनकारीले आरोप लगाएका छन् । आफूहरू संयोगले बाँचेको पनि प्रदर्शनकारीले बताएका छन् ।
![](https://samajikfeed.com/wp-content/uploads/2023/07/WhatsApp-Image-2023-07-09-at-9.14.22-PM-1024x461.jpeg)
मेयर यादवमाथि कारबाहीको माग गर्दै आन्दोलनकारीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई निवेदन पनि दिएका छन् ।
यसैबीच, सिरहा सदरमुकामबाट मिर्चैया फर्किने क्रममा बाटोमा पनि आफूहरू सवार गाडीलाई मेयरको गाडीले ठक्कर दिएर दुर्घटना गराउन खोजेको प्रदर्शनकारीको आरोप छ । यो घटनाको विरोधमा उनीहरूले मिर्चैया थाना चोकमा आइतबार साँझ सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
![](https://samajikfeed.com/wp-content/uploads/2023/07/New-Project-23-1024x544.jpg)
मेयर गुण्डागर्दीमा उत्रिएको भन्दै तत्काल पक्राउ गरी कारबाही गर्न प्रदर्शनकारीले माग गरेका छन् ।
किन भइरहेको छ आन्दोलन ?
गत माघ २७, फागुन ११ र २७ गते मिर्चैया नगरपालिकाले बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरी हटाइदिएको थियो । यही घटनालाई लिएर उनीहरूले आफूहरूमाथि नगरपालिकाले ज्यादती गरेको भन्दै प्रदर्शन गर्दै आएका छन् ।
मिर्चैया स्थापना हुनुभन्दा अघि जंगल थियो । भालु, चितुवालगायत जंगली जनावरको बिगबिगी खपेर बस्ती बस्यो । बस्ती बसेपछि पसल खुलेसँगै त्यसले बजारको रूप लिएको र त्यही बस्ती अहिलेको मिर्चैया बजार भएको स्थानीयहरू बताउँछन् । तर पुस्तौंदेखिको थातथलोमा बजार बसाउनेहरू अहिले बेघर बनेका छन् ।
कित्ता नम्बर २५६ को ३ बिघा १२ कठा १७ धुर जग्गा र कित्ता नम्बर ६० को २ कठा ५ धुर जग्गामा बसेको बस्ती नै मिर्चैया नगरपालिका ५ वडामा अवस्थित मुख्य मिर्चैया बजार क्षेत्र हो । यी कित्ताभित्र सरकारी नगरपालिका भवन, सार्वजनिक मन्दिर, पोखरी, सडकलगायत छन् । त्यसैगरी २००४ सालदेखि नै मालपोत स्रेस्ता कायम रहेका निजी घरहरूसमेत यही कित्तामा छन् । त्यसको लगत, मोठ, नापी र मालपोत कार्यालयको रेकर्डमा पनि छ ।
तत्कालीन गाउँ पञ्चायतमा बाहल बिटौरीको रूपमा दस्तुर तिर्दै आएका व्यक्तिहरूका घरसमेत यही कित्तामा छन् । माघ र फागुनमा पुस्तौँदेखि भोगचलन गर्दै आएका र बहाल बिटौरी दस्तुर तिर्दै आएका त्यही कित्तामा बसोबास गर्दै आएका परिवारहरू उठिबास गराइएको हो ।
२०२१ सालमा भूमि सुधार ऐन लागू हुनुअघि लालपुर्जा दिने चलन नभएकाले जमिन्दारहरूले जम्मावादी, विलोवादी भन्दै हातले लेखेको पर्चा राख्थे । भूमिसुधार लागू भएपछि त्यतिखेर सरकारले गाउँगाउँमा नापी टोली पठाएर लगत लिन थाल्यो । जमिन्दारबाट जमिन खरिदबिक्रीको सम्पूर्ण रेकर्ड राख्न देशभर २०२२ सालबाट नापी सुरु भयो । मालपोत अड्डा स्थापना गरियो । खेत नापी भयो ।
तर, जनशक्ति अभावमा गाउँघर नापिएन । त्यतिखेर नापी टोलीले घर भएको जग्गा नापी गरेन, सबैलाई एउटै ब्लकमा घेरेर गाउँ वा गाउँब्लक भनेर नामकरण गरिदियो । खेत भएकालाई लालपूर्जा दिइयो तर घर भएकालाई लालपुर्जा दिइएन । लालपुर्जा नदिए पनि अंशबन्डा, खरिदबिक्री भने चलिरहेको थियो ।
पछि २०५१ सालमा सरकारले गाउँब्लक जग्गाहरूलाई संरक्षण गर्न मालपोत कार्यालयलाई पत्राचार गर्दै २०२२ सालमा नापी भएको जग्गाको स्रेस्ता, फिल्डबुकमा गाउँ वा गाउँब्लक, नाम खाली रहेको कित्तालाई सरकारको नाममा राख्न निर्देशन दियो । मिर्चैयाको कित्ता नम्बर २५६ को ३ बिघा १२ कठा १७ धुर जग्गा र कित्ता नम्बर ६० को २ कठ्ठा ५ धुर जग्गा मालपोत कार्यालयको जग्गा धनी दर्ता स्रेस्तामा जग्गाको विवरणमा गाउँ राखिए पनि जग्गा धनीको नाममा श्री ५ को सरकार लेखियो ।
मालपोतको स्रेस्तामा २०५१ साउन १९ गतेको मितिमा कार्यालय प्रमुखको मौखिक आदेशानुसार भिट्ठा महलमा भएको जग्गाअन्तर्गत त्यस जग्गालाई राखिएको छ । यसरी गाउँब्लकका जग्गालाई सरकारको नाममा गरिएको सिरहा मात्र नभई अन्य ११ जिल्ला यस्तो भएको फेला पर्यो ।
यही गाँठो फुकाउन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ पुस २३ गते राजपत्र नै प्रकाशित गरी सिरहा जिल्लासहितका साविक नापीको फिल्डबुकमा गाउँब्लक भन्ने शब्दावली उल्लेख भई विभिन्न निर्णयबाट नेपाल सरकारको नाममा दर्ता स्रेस्ता कायम भएका कित्ताभित्रका जग्गा ‘जग्गा (नापजाँच) ऐन, २०१९ को दफा ३ बमोजिम नापजाँच हुँदाका बखत त्यस्तो कित्ताभित्रका सरकारी, सार्वजनिक जग्गा छुट्याइ सरकारी जग्गा नेपाल सरकारको नाममा राख्न र सो बाहेकका अन्य जग्गाहरूको नेपाल सरकारको नाममा रहेको दर्ता स्रेस्ता संशोधन गरी ऐनको दफा ६ को उपदफा (५) बमोजिम सम्बन्धित जग्गाधनीको नाममा दर्ता गर्न स्वीकृति दिने निर्णय गर्यो ।
राजपत्रमा प्रकाशित सोही सूचनाका आधारमा विशेष नापी टोलीले गाउँब्लक जग्गाको मिर्चैयामा नापी गर्यो । विशेष नापीले चार वर्षअघि जग्गाको नापजाँच सम्पन्न गरी लालपुर्जा वितरण गर्न २१ दिने हकदाबीको सूचना प्रकाशनको तयारी गरिरहेका बेला मिर्चैया नगरपालिकाले बजार क्षेत्रका करिब तीन दर्जन घर भत्काइदियो । मिर्चैया नगरपालिकाले घर भत्काउनुका साथै ‘नाप नक्सा गरिएको जग्गा नेपाल सरकारको नाममा रहेकाले कुनै पनि व्यक्तिको नाममा नापी नगरिदिनू’ भन्ने २०७९ फागुन ११ गते पत्र पठाएपछि प्रक्रिया नै स्थगित भयो ।
नगरपालिकाको पछिल्ला कदमबाट आक्रोशित बनेका स्थानीयले लालपुर्जा दिनुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मेयरको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग राखी निरन्तर आन्दोलन गर्दै आएका छन् । उनीहरूले हरेक दिन नगरपालिका कार्यालय अगाडि धर्ना दिँदै आएका छन् । आइतबार भने सदरमुकाम नै पुगेर उनीहरूले दबाब दिएका हुन् ।