आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा लगानीकर्ताहरुले ब्याजको रकम जोहो गर्न शेयर बिक्री गर्दा यस दिन बजारमा बिक्रीचाप बढेको छ।
नेप्से परिसूचक ३९.२६ अंक घटेर २०४९.४४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७८ अंक घटेको छ।
असार मसान्तमा क्लोजिङको समय भएकोले बैंकहरूले तरलता सहज भएपनि थप ऋण प्रवाह गर्दैनन् । विगतमा व्यवसायिले असारको ब्याज तिर्न चालुपूँजी कर्जाको सीमा बढाउने गरेको भएपनि राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्पत्ति मार्गदर्शन ल्याएर ऋण तिर्न चालुपूँजी कर्जा प्रयोग गर्न नसक्ने व्यवस्था गर्नुको साथै त्रैमासको अन्तिम महिनामा चालुपूँजी कर्जाको सीमा बढाउन नसक्ने व्यवस्था गरेको छ ।
नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिटि होटल र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभमा कारोबार भएको छ। यसै दिनदेखि कारोबारमा आएका दुई स्टकमध्ये रावा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा मोदी इनर्जीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन बिपिडब्लु लघुवित्तको शेयर पनि १० प्रतिशत घटेर कारोबार भएको छ।