काठमाडौँ, १४ असार। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले निजि विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
संस्थागत विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै मेयर साहले बिहीबार यस्तो निर्देशन दिएका हुन् ।
उनले ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको पनि स्मरण गराएका छन् । त्यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिएबमोजिम हुने उल्लेख गरिएकोसमेत उनले स्पष्ट पारेका छन् ।
सरकारी सरह तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि मेयर साहले शिक्षकहरूसँग अनुरोध गरेका छन् ।
