सामाजिक फीड-
जनकपुरधाम, असार १३ गते ।
सरकारले आलु प्याजमा १३ % लगाएको भ्याट खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ । जनकपुरको पेठिया बजारबाट दर्जनौंको संख्यामा निस्केका आलुप्याज व्यवसायी जनकपुरको विभिन्न भागमा प्रदर्शन गरेका हुन् ।
आलु प्याजमा सरकारले लगाएको १३ प्रतिशत भ्याट खारेज गर, खुल्ला नाका बन्द गर लेखिएको ब्यानर र प्ले कार्डसहित प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणात भएको थियो ।
कोणसभामा बोल्दै जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जे कुरामा पनि भ्याट लगाउने कदमले सरकारसंग राज्य संचालनको कुनै योजना नै नरहेको तर्क गरे । आलुप्याजमा भ्याट लगाउँदा व्यवसायी र नागरिक ठूलो मारमा पर्ने भएपनि नागरिक समाज यो विषयमा आवाज नआउनु दुर्भाग्य रहेको उनको अध्यक्ष महासेठको तर्क छ ।
‘बैकल्पिक रुपमा अर्थतन्त्र मजवुत बनाउने तिर नलागेर सरकार जनताको उपभोग्य हरेक समान्य खाद्य वस्तुमा कर लगाइरेका छन् । सीमामा तस्करी रोकन सरकारको ध्यान गएको छैन’ उनले भने ।
भ्याट थपेको कारण व्यवसायीको लगानी डुब्ने स्थिति आउँदा बाध्य भएर आन्दोलनमा उत्रेको आलु प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष अलाउदिन राइनले बताए । चाँडोभन्दा चाँडो आलुप्याजमा लगाएको भ्याट खारेज नगरे किराना, फलफुल, आलुप्याजको विक्रीवितरण बन्द गगरी सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए ।