Samajik Feed – News Portal from Nepal

धनुषा, १३ असार । धनुषाको लक्ष्मीनियाँस्थित श्री सोनामाई राष्ट्रिय प्राथमिक विद्यालय सोहनीको गुणस्तर सुधारको माग गर्दै प्रदर्शन भएको छ । बुधबार विद्यार्थी तथा स्थानीयवासीले विद्यालय अव्यवस्थित भएको भन्दै गाउँपालिकामा प्रदर्शन गरेका हुन् ।

उनीहरूले विद्यालयमा शिक्षकको अभाव रहेको र कक्षा कोठाहरू जीर्ण रहेको भन्दै तत्काल यसतर्फ ध्यान दिन स्थानीय सरकारसँग आग्रह गरेका छन् । सामुदायिक यो विद्यालयमा अधिकांश गरिब, असहाय तथा दलित समुदायका छात्रछात्रा अध्ययनरत छन् । तर, उनीहरूमाथि सरकारले विभिन्न बहानामा अन्याय गरिरहेको प्रदर्शनमा सहभागी स्थानीय अगुवाहरूको आरोप छ ।

उनीहरूले बालबालिकालाई पोशाकका लागि भनेर सरकारले मात्र ४ सय रुपैयाँ उपलब्ध गराउँदै आएको भन्दै रकम बढाउन माग गरेका छन् । गरिबलाई जहिले पनि अन्यायमा पार्ने काम राज्यबाट हुने गरेको उनीहरूको आरोप छ ।

पैसा नहुनेहरूले सरकारी विद्यालयमा पढ्ने गरेका छन्, तर सरकारी विद्यालयमा शिक्षाकै अभाव रहेको उनीहरूको दुखेसो छ ।

प्रदर्शनमा सहभागी एक स्थानीयले भने, ‘गरिब र असहाय बच्चाले राम्रो शिक्षा नपाउने ? पैसाबालाले बोर्डिङमा पढाउँछन्, तर गरिबले आफ्ना बच्चालाई कहाँ पढाउने ? कुन सरकारी विद्यालयमा राम्रो शिक्षक छ ? दरबन्दी १० जनाको हुन्छ तर शिक्षक दुई जना हुन्छन् ।’

देशले धेरै नेताहरू जन्माए पनि शिक्षाको गुणस्तर विकासमा भने कसैको ध्यान नपुगेको पनि उनीहरूको आरोप छ ।

स्थानीय एक अभिभावकले भने, ‘विद्यालयको भवन हेर्नुस्, छानो जीर्ण भइसकेको छ । वर्षातमा कक्षा कोठा पानीले भिजेको हुन्छ, यसरी विद्यार्थी पढ्न सक्छन् ? यो कसको कमी कमजोरी हो ? लोकतन्त्र गणतन्त्रमा नेताहरू थुप्रै बने तर शिक्षाप्रति कसैको ध्यान पुगेको छैन ।’

विद्यालयमा शिक्षा सुधारसम्बन्धी आफूहरूका माग तत्काल सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम ल्याउने पनि प्रदर्शनमा सहभागी स्थानीय तथा अभिभावकहरूले चेतावनी दिएका छन् ।

यता, गाउँपालिकाका वडा अध्यक्ष दिलिपकुमार यादवले विद्यालयमा देखिएका समस्या समाधानका लागि आफूहरू प्रयासरत रहेको बताएका छन् । पर्खाल निर्माणसहित भौतिक संरचनाको मर्मतका काम भइरहेको उनले बताए । अध्यक्ष यादवले गाउँपालिकाबाट शिक्षक भर्नामा विलम्ब हुने भए आन्तरिक श्रोतबाट भए पनि शिक्षक राख्ने निर्णय भइसकेको र सोहीअनुसार प्रक्रिया अगाडि बढाउन व्यवस्थापन समितिलाई भनिसकेको पनि जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!