काठमाडौँ, १२ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न तीन जनाभन्दा बढी आफन्त प्रवेश गर्न नपाउने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलवार सूचना जारी गरेर भिडभाड नियन्त्रण गर्न भन्दै बिदाइ र स्वागतका लागि एक यात्रुका लागि बढीमा तीन जना मात्र आउन अपिल गरेको हो ।
विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेको र व्यस्त समयमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरूको भिडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएकोले यो व्यवस्था गर्नुपरेको निमित्त महाप्रबन्धक टेकनाथा सिटौलाले बताएका छन् ।
