Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ७ असार । काठमाडौँ महानगरका सिनेमा हलहरूमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

बिहीबार नेपाल चलचित्र संघको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अल्पकालीन अन्तरिम आदेश दिएको अदालतले दुवै पक्षलाई असार १२ गते छलफलका लागि बोलाएको छ ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएको भन्दै काठमाडौँका मेयर बालेन साहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइदिएका थिए ।

बालेनको यो निर्णयविरुद्ध हलबालाहरू अदालत पुगेका थिए ।

यसैबीच, मेयर साहले अदालतको आदेश नमान्ने अडान लिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् बालेनले भारतीय फिल्मको प्रदर्शन हुन नदिन आफू जुनसुकै सजाय भोग्न तयार हुने पनि बताएका छन् । उनले अदालत र नेपाल सरकार भारतको गुलाम भएकोसमेत आरोप लगाएका छन् ।

देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने उनको भनाइ छ । फिल्म लेखकले नेपाल कुनै बेला भारतको अधिनमा रहेको अभिव्यक्ति दिएको भन्दै उनीहरूको नियत थाहा स्पष्ट भएको पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *