Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार १ गते ।

गैर दलितको छोरी भगाएको निहुम सिरहामा एक दलित परिवारमाथि सृंखलावद्ध रुपमा अपराधिक घटना घटाइएको खुलासा भएको छ । सिरहाको मिर्चैया नगरपालिका १ बस्ने घुरण महराका श्रीमती ४५ वर्षीया राजकुमारी महराको गत मंगलबार सिरहाको बन्दीपुर स्थित भुल्केचोकबाट अपहरणमा परेकी थिइन् । राजकुमारीलाई बुधबार राति साढे ८ बजे लहानबाट अपहरण मुक्त गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनको अपहरण घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केटीकी आमासहित तीनजनालाई पक्राउ गरेको छ । अन्य ५ जना फरार छन् । पक्राउ पर्नेमा केटीकी आमा सिरहाको कर्जन्हा नगरपालिका १० का राजकुमार कापरकी श्रीमती ललिता कापर, स्थानीय मनोज कापर र सुवेल अंशारी रहेको डिएसपी वस्नेतले बताए ।

डिएसपी वस्नेतका अनुसार युवकका आमा राजकुमारी ट्याम्पुमा आफन्तसित धनुषाबाट आउँदै गरेको अवस्थामा थाहा पाएको मौका छोपी केटीकी आमा ललिलतासहित ८ जनाको समूहमा अपहरण गरेका थिए । खोजतलासको क्रममा बुधबार राति राजकुमारीलाई लहानबाटै अपहरण मुक्त गराउन सफल भएको छ । उनलाई नियन्त्रणमा लिएकी ललितालाई त्यहीबाट नियन्त्रणमा लिइएको डिएसपी वस्नेतको भनाइ छ । फरार भएकाहरुको खोजी कार्य जारी रहेको डिएसपी वस्नेतले बताए ।

प्रेम सम्बन्धमा परेका राजकुमारीकी छोरा १९ वर्षीय कमलेश महरा र ललिताकी छोरी १८ वर्षीया नेहा कापर गत चैत २३ गते भागेका थिए ।

अपहरणमुक्त भएकी राजकुमारीका अनुसार आफूलाई उनीहरु अपहरण गरेर राति गाडीमा बसाएर भारत तिर लैजाँदै गरेको अवस्थामा एक प्रहरीले चेकजाँचको लागि रोकका थिए । त्यहाँ आफूलाई अपहरण गरेर लगेको गुहार उनले लगाएकी थिइन् । तर उनीहरुले आफ्नो सासु रहेको नाटक गर्दै उपचारको लागि लग्न लागेको र प्रहरीलाई केही रुपैयाँ दिएपछि रोकेनन् । अपहरणको क्रममा आफूमाथि कुटपिट र यातना दिएको राजकुमारीले बताइन् ।

सिलसिलेवार घटना, तर प्रहरी मुकदर्शक

तल्लो जातको केटाले आफ्नो छोरी भगाएको निहुमा केटी पक्षले केटाको घरपरिवारमाथि सृंखलावद्धरुपमा घटना गर्दै आएका छन् । केटीकी बुबा राजकुमार, आमा ललिताले कहाँ भगाएको भन्न दबाब दिँदै केटाको परिवारमाथि कुटपिट तथा यातना दिँदै आएका छन् ।

केटा केटी भागेको समय नै केटीको घरपरिवारले केटाको आमा राजकुमारीमाथि निर्घात कुटपिट गरेका थिए । प्रहरीलाई जानकारी भएपछि केहीदिन सुरक्षा दियो । तर कुटपिट गर्नेमाथि केही कारबाही भएन ।

त्यसपछि पुनः केटीका बुवा राजकुमार र आमा ललितासहितले केटाको दाइ पर्ने काका रामअशिष महराका छोरा २५ वर्षीय रुपेश महरालाई ‘तैले नै भगाएको’ निहुमा दाहिने खुट्टा र टाउको फुट्ने गरी ज्यानै लिने गरी आक्रमण गरे । गम्भीर घाइते रुपेशको बिराटनगरको न्युरो र काठमाडौंको मेडिसिटीसम्म उपचार गराएर केही दिनअघि मात्र घर फर्केका छन् । अहिले उनको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । ज्यानै लिने गरी भएको कुटपिटमा केटीकी आमा राजकुमार र ललिलतामाथि मिर्चैया प्रहरीमा रुपेशका परिवारले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका छन् । तर राजनीतिक पहुँचको कारण प्रहरीले उनीहरुलाई पक्राउ नगरेको र मनोवल बढ्दै जाँदा एकपछि अर्को घटनासमेत घटाएको पीडित परिवारको आरोप छ । केटीको अमालाई अपहरण घटनापछि मात्रै प्रहरीले पक्राउ गरेको छ । केटीका बुबा अझै खुलेआम घुमिरहेको पीडित परिवार बताउँछन् ।

यता डिएसपी वस्नेतले आफू २५ दिन अघिदेखि मात्र जिम्मेवारीमा रहेकाले अपराधीहरु खोजेर पक्राउ गर्ने प्रयासमा लागेको बताए । अपहरण घटनामा केटीकी आमासहित आठजनाविरुद्ध किटानी जाहेरी आजै मिर्चैया प्रहरीमा दर्ता भएको डिएसपी वस्नेतले जानकारी दिए ।

स्थानीयका अनुसार केटी पक्षलाई स्थानीय जनप्रतिनिधि र राजनीतिकर्मीले अझै संरक्षण दिएर उन्मुक्तिदिने प्रयास गरिरहेका छन् । अहिलेसम्म केटाकेटी फेला परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!