सामाजिक फीड-
जनकपुरधाम, जेठ २८ गते ।
महोत्तरीको भिठामोडमा पानी किन्ने विवादमा जनकपुरका एकै परिवारका तीनजनामाथि निर्घात कुटपिट भएको छ । महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डा घर भई जनकपुरधाम उपमहानगरपालिका ६ डेरा गरी बस्दै आएकी ३६ वर्षीया सविता महतो, उनका भाई द्वय ३२ वर्षीय सुजित साह र २५ वर्षीय सुनिल साहमाथि कुटपिट भएको हो ।
आइतबार दिउँसो भारतबाट फर्किरहेका उनीहरु भिठामोडको शिवम होटेलमा पानी किन्न गएका थिए । पानीको पैसा ५० रुपैयाँ भारु दिएका थिए । तर होटेलबालाले नेपाली रुपैयाँ दिन भनेपछि विवाद उत्पन्न भएको थियो ।
त्यसै क्रममा संचालकसहितले आफूहरुमाथि कुटपिट गरेको पीडित सुजित साहले दुखेसो पोखे ।
सोविताको तालुमा फुटेको छ भने सुजितको टाउकोमा फुटेको छ । सुनिलको कान र पिठ्युमा गहिरो चोट लागेको छ ।
उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । विवाद पश्चात प्रहरी घटनास्थल पुगेको तर, कुटपिट गर्नेहरुलाई पक्राउ नगरेको पीडितहरुको गुनासो छ ।
यता महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले घटना विषयमा बुझ्ने प्रयास गरिरहेको र दोषीलाई कारबाही गरिने बताए ।