Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । बुधबार नेपाल एयरलाइन्सको नियमित उडानबाट दाहाल नेतृत्वको टोली भारत प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी हुनुहुन्छ ।

त्यस्तै, १८ सचिव र निजी क्षेत्रका व्यक्तिहरू पनि सहभागी छन् । भ्रमणका क्रममा सरकारले नेपाल–भारत जोड्ने रक्सौल–वीरगञ्ज–सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । त्यस्तै, नेपाल र भारत सरकारबीच विभिन्न कालखण्डदेखि थाँती रहेका सीमादेखि अन्य मुद्दाहरूमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गर्नुहुनेछ । उहाँले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *