काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । बुधबार राष्ट्रपति पौडेलले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको जानकारी दिनुभएको छ ।
जेठ १२ गते बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको थियो । यसअघि, नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै नागरिकताविहीन संघर्ष समितिले दबाब दिँदै आएको थियो । संसदबाट दुई-दुई पटक विधेयक पास हुँदासमेत तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरीदिँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन सकेको थिएन ।
समितिले नागरिकता विधेयक निष्किृय नभएको दाबी गर्दै वर्तमान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गर्नुपर्ने जिकिर गर्दै आएको थियो । नागरिकता विधेयक प्रमाणीकरणका लागि आश्यक भूमिका निर्वाह गर्न समितिका अध्यक्ष ईन्द्रजीत साफीलगायत नागरिकताविहीन युवाहरूले सरोकारबाला निकायहरूलाई आग्रह गर्दै आएका थिए ।
संघर्ष समितिले विगत दुई वर्षदेखि जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिका सन्तान र एकल आमाका सन्तानहरूलाई नागरिकता दिनुपर्ने माग गर्दै आएको थियो । प्रमाणीकरणसँगै नागरिकता पाउने भएपछि जन्मसिद्ध नागरिकका सन्तानहरू हर्षित भएका छन् ।
