१० जेठ, जनकपुर । शेयर बजारमा चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक निरन्तर १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । गत साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिदै ७ औं दिन पनि लगातार वृद्धि भएको छ ।
बुधबार नेप्से परिसूचक १६.४९ अंक बढेर १९५९.१२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक बढेको छ।
नेप्सेमा वृद्धि भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम घटेको छ । मंगलबार १४ फागुन २०७९ यताकै उच्च २ अर्ब २० करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकममा केही संकुचित भएको हो । बुधबार ३४ हजार ८४१ वटा कारोबारमा ४८ लाख ६५ हजार ४७५ कित्ता सूचीकृत धितोत्रप किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाखको कारोबार भएको छ।
नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।