Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, बैशाख १९ गते ।

जनकपुरधाममा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न दिन व्यवसायीले स्थानीय प्रशासनसंग माग गरेका छन् । रात्रि बजार संचालन गर्न सुरक्षा व्यवस्था मिलाइदिन जनकपुरधाम उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको हो

शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी कशीराज दाहाललाई ज्ञापन पत्र बुझाउदै संघका पदाधिकारीहरुले जनकपुरधाम उपमहानगरपालिकाको नगर क्षेत्रमा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइदिन माग गरेका हुन् ।

खुल्ला सिमाका कारण नेपालमा भारतीय पर्यटकहरुको आवागमन बढिरहेको र बोर्डरमा राति १० बजेसम्म भारतीय पर्यटकहरु नेपाल प्रवेश गर्न सक्ने भएकाले जनकपुरधाम नगर क्षेत्रमा राति १२ बजेसम्म पर्यटकका लागि आवश्यक पर्ने होटल, रेष्टुरेन्ट, किराना पसल, फलफुल, फाष्टफुड सहितका पसलहरु खोल्नका लागि सुरक्षाको प्रवन्ध मिलाइदिन ज्ञापन पत्रमा माग गरिएको हो ।

पर्यटकहरु राति १० बजेको समयमा जनकपुरधाम आउँदा बस्ने र खाने होटलहरु बन्द हुने गरेकाले समस्या भइरहेकोले संघले यस्तो माग गरेको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

उनले जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र रहेकाले पर्यटक नै असुरक्षित र असन्तुष्ट भए व्यापार घाटा हुने भएकाले सुरक्षा प्रवन्धको मागसहित ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।

ज्ञापन पत्र बुझाउन संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्भु प्रसाद साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष परमेश्वर साहसहितका पदाधिकारी तथा सदस्यहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!