सामाजिक फीड-
जनकपुरधाम, बैशाख २६ गते ।
तीनवर्ष अघि दिलीपको हत्या भएको धनुषाको मिथिला नगरपालिका स्थित औरही खोलामा अवधै उत्खनन फेरि फस्टाएको छ । क्रसर व्यवसायीले रातिको समयमा ठूला उपकरण प्रयोग गरेर १५ फिटसम्म गहिरो खनेर बालुवा र रोडा अर्थात गिट्टी निकाल्ने गरेका छन् ।
नगरपालिकाले अहिलेसम्म ठेक्का नलगाएको खोलामा नदीपदार्थको दोहन भइरहेको छ । नगरपालिकाले मापदण्ड अनुरूप नदीजन्य पदार्थ निकाल्न ठेक्का दिएपछि मात्र उत्खनन् गर्न पाइन्छ । तर, अवैध उत्खनन् भइरहँदा मिथिला नगरपालिका कार्यालय आँखा चिम्लेर बसेका छन् ।
२०७६ पुस २५ गते श्रीपुरका ओमप्रकाश महतो (दिलीप) को वीभत्स हत्या यसै खोलामा नदीको अवैध उत्खनन विरुद्ध बोल्दा भएको थियो । घटना पश्चात केही समय सुनसान रहेको खोलामा निर्वाध उत्खनन भइरहँदा जनप्रतिनिधि र प्रहरी प्रशासन मुकदर्शक छन् ।
स्थानीयका अनुसार राति नै दर्जनौं टिपरले श्रीपुर, लालभित्ती र हरिहरपुर हुँदै ओसार्छन् खोलाबाट नदीजन्य पदार्थ ओसार्छन् । राति बाँकी रहेको दिउँसै पनि ओसार्छन् ।
‘दिउँसो धेरै खन्दैनन् । राति आठ बजेदेखि बिहानसम्म खनेर बालुवा–गिट्टी निकाल्छन्। राति नै ओसार्छन् । रातभर खोला खनेको र टिपर चलेको आवाज आइराख्छ,’ श्रीपुरका एक बासिन्दाले भने, ‘यहाँ जनप्रतिनिधि र प्रहरी प्रशासनको मिलेमतोमै सबै भइरहेको छ ।’ उनका अनुसार कहिलेकाहीँ प्रहरी आउँछ तर त्यस बेला खोलमा कोही पनि हुँदैन । कहिलेकाहीँ एकदुई जना पक्राउ पनि पर्ने गरेका छन् तर भोलिपल्टै रिहा हुन्छन् ।
औरही खोलामा श्रीपुर र नक्टाझिज टोलका बीचमा मात्र ६ वटा क्रसर छन् । त्यहीँ बालुवा निकालिन्छ ।
नक्टाझिज र दिनाभद्री टोलबाट दुई सय मिटरमै क्रसर उद्योग चलेका छन् । रातभर चल्ने टिपर र उद्योगबाट आउने आवाजले सुत्न नसकेको नक्टाझिजका एक बासिन्दा बताउँछन् । उनले भने, ‘राति त आवाजले त घरै उडाएर लान्छ जस्तो हुन्छ । हामीले वडाध्यक्ष, मेयर र प्रहरीलाई धेरै पटक भन्यौं । अब त थाकिसक्यौँ ।’
![](https://samajikfeed.com/wp-content/uploads/2023/05/image-1024x576.png)
नक्टाझिजका एक बासिन्दाले खोलामा गुण्डाराज चलेको अनुभूति भएको बताए । उनले भने, ‘खोलामा क्रसरवालाहरूले आतंक मच्चाएका छन् । विरोधमा बोल्ने आँट कसैको छैन । बोल्नेको हालत दिलीपको जस्तै हुने डर छ ।’ उनले पनि जनप्रतिनिधि र प्रहरी क्रसर व्यवसायीसँग मिलेको आरोप लगाए ।
‘ठेक्का भएको छैन तर खोलो खनेका खन्यै छन्,’ उनको प्रश्न छ, ‘मिलेमतो नभई ठेक्काबिना कसरी खोलो खन्दैछन् ?’ तर सरकारी निकाय भने एकअर्कालाई दोष दिएर पन्छिन्छन् ।
मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार नगरपालिकाले टेन्डर आह्वान गर्दा फारम भर्न कोही पनि आएन । नगरपालिकाले ठेक्का नलागेकाले खोला खन्न रोक लगाएको भनेको छ । महतोले प्रहरीकै मिलेमतोमा तस्करले खोलामा आतंक मच्चाएका आरोप लगाए । ‘राति बढी उत्खनन् हुन्छ । सुरक्षा निकाय जानु पर्ने हो । राति प्रहरी जाँदैन । फोन गर्दा पनि जाँदैन । प्रहरीले चासो देखाउँदैन,’ उनले भने, ‘एउटा घटना (दिलीपको हत्या) भइसकेको छ । फेरि घटना भयो भने कसले जिम्मा लिने ?’
आफूहरूले जिल्ला समन्वय समितिका प्रमुख र जिल्लाका प्रहरी उपरीक्षक (एसपी) लाई पनि खोला देखाएको बताए । हालै फेरि एसपीलाई भेटेर कुरा गरेको पनि बताए । ‘प्रहरी हामीलाई दोष नलगाइदिनू भन्छ,’ महतोको प्रश्न छ, ‘सुरक्षाको जिम्मा लिएर बसेको प्रहरीले हेरेन भने कसले हेर्छ ? प्रहरीको मिलेमतो नभई कसरी खोलो यति धेरै खनिन्छ ?’ उनले स्थिति विकराल रहेको पनि बताए ।
गाउँका कतिपय व्यक्तिहरू भने क्रसर व्यवसायीसँग मेयरको पनि मिलेमतो रहेको आरोप लगाउँछन् । उनीहरूका अनुसार मेयरले अमानतमा उत्खनन् गर्न अनुमति दिएका छन् । एक प्रहरी अधिकारीले औरही खोलाबाट नगरपालिकाले आम्दानी गर्ने गरेको बताए ।
यस सम्बन्धमा जिज्ञासा राख्दा मेयर महतोले चालु आर्थिक वर्षमा ठेक्का नलागेको र गत आर्थिक वर्षमा उत्खनन् गरेर थुपारेको बालुवा–गिट्टीमात्र उठाउन अनुमति दिएको बताए । महतोले व्यवसायीसँग आफ्नो मिलेमतो छ भन्ने आरोप अस्वीकार गरे । अवैध उत्खनन् नियन्त्रणका विषयमा प्रहरी र नगरपालिका बीच टकराव छ ।
खोला उत्खनन्मा तस्करसँग साँठगाँठ रहेको आरोप खेपिरहेका जिल्लामा प्रहरी प्रमुख एसपी विश्वराज खड्काले पनि आरोप अस्वीकार गरे । उनले उत्खनन् नियन्त्रण गर्ने जिम्मेवारी नगरपालिकाको रहेको बताए । ‘नगरपालिकाले अमानतमा खोला खन्न लगाउने, उत्खनन् भएको चिजबाट राजस्व लिने अनि प्रहरीलाई दोष दिने ?’ प्रश्न गर्दै, एसपी खड्काले भने, ‘खोलामा प्रहरी बिट छैन । राति दुई जना प्रहरी जान सक्दैनन् । नगर प्रहरीले हेर्नुपर्छ ।’
प्रहरीले आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गरेको उनको दाबी छ । नगर प्रहरीले हेर्नुपर्ने एसपी खड्काको भनाइमा मेयर महतोले असहमति जनाए ।
जनप्रतिनिधि र प्रहरी प्रशासनले अवैध उत्खनन नियन्त्रण गर्ने ठाउँमा एक अर्कामाथि आरोप प्रत्याआरोप गरेर तमासे बनेका छन् । उनीहरु क्रसर माफियासंग भित्र सेटिंगमा उत्खनन गराइरहेकोले नियन्त्रण गराउनबाट पन्छिरहेको स्थानीयको आरोप छ ।