२४ वैशाख, काठमाडौं । सोमबारदेखि काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार हटाउन इन्टरनेट सेवा प्रदायक कम्पनीहरु र नेपालदूरसञ्चार प्राधिकरण राजी भएका छन् ।
आइतबार महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु बीच भएको छलफलमा महानगर क्षेत्रका अव्यवस्थित तार सोमबारदेखि हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तयार भएको महानगरले जनाएको छ ।
माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु सोमबार बिहान ८ बजेदेखि महानगरका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार हटाइने छ ।
१५ दिने म्याद दिंदै २७ वैशाखभित्र अव्यवस्थित तार महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई हटाउन भनेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरपालिकासहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । त्यसपछि महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो ।
२७ वैशाखसम्म सरोकार निकायले तार नहटाए महानगरपालिका आफैंले हटाउने तयारी गरिरहेको लामिछानेले बताए । उनले भने, ‘तर छलफलमा भोलिदेखी नै तार हटाउने विषयमा सहमति भएको छ । विश्वास छ भोलिदेखि नै तार हटाउन सुरु हुन्छ ।’
भोलिदेखि काठमाडौंका अव्यवस्थित तार हटाइँदै