काठमाडाैँ, २४ वैशाख । नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आइतबार बजार खुलेलगत्तै नेप्से परिसूचक १९ दशमलव १२ अङ्कले घटेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको हो । त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलव ७८ मा सीमित भएको छ ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ८७ कम्पनीको भने ओरालो लागेको छ । त्यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कूल २० लाख १५ हजार नौ सय ५९ कित्ता शेयर ६० करोड ८१ लाख ३५ हजार ९४ मूल्यमा खरिद बिक्री भए ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको तीन करोड २२ लाख ३७ हजार छ सय सात मूल्य बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, मकर जितुमाया सुरी हाइड्रोपावर एक करोड ८९ लाख ७६ हजार एक सय तीन, नबिल बैंक एक करोड ६८ लाख २३ हजार, एनआईसी एशिया बैंक एक करोड ५४ लाख ७० हजार ६ सय २३ र ङादी ग्रुप पावरको एक करोड ५३ लाख १५ हजार पाँच सय ९२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।