सामाजिक फिड-
जनकपुरधाम, बैशाख १९ गते ।
उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक कैदी पक्राउ परेका छन् । महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्णा यादवलाई २५ दिन पश्चात प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
उनलाई खोज तलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका ३ स्थित मलिबारामा लुकीछिपी हिडदै गरेको अबस्थामा पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमा गिरीले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादव बिरामी भएपछि चैत २४ गते उपचारका लागि जनकपुरधाम स्थित हाड जोर्नी डाक्टर मनोज प्रसाद गुप्ताको क्लिनिकमा उपचारको लागि ल्याइएको थियो । शौचालयमा पिसाव गर्न पसेपछि भेन्टीलेसन फोडेर फरार भएका थिए ।
पक्राउ परेका यादवमाथि कैदी बन्दी भागे भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यादवमाथि अपहरण तथा शरिर बन्धक ,कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्र समेतको मुद्दा महोत्तरी जिल्ला अदालतमा बिचारधिन छ ।